Loading...

सख्खरले बढायो मदिरा उद्योग

बारा, २०६६ माघ २ - 
उखु खेती घटेका कारण चिनीको अभाव चालू वर्ष जारी रहने देखिए पनि पर्याप्त सख्खर उत्पादन भइरहेकोले घरेलु मदिराका पारखी चिन्तित हुनुपर्ने छैन । उखु तानातानमा सख्खर उत्पादक क्रसर उद्योगहरूले चिनी उद्योगलाई उछिन्दै पर्याप्त सख्खर उत्पादन गरिरहेका छन् । 

'सख्खर उद्योग तानातानमा उत्रिएपछि उखुको मूल्य बढेको मात्र छैन,' इन्दुशंकर चिनी उद्योगका प्रबन्ध निर्देशक राजेश केडिया भन्छन्, 'चिनी उद्योग पछि पर्न थालेका छन् ।' क्रसर उद्योगसँग प्रतिस्पर्धाका कारण उखु नपुगेर पटकपटक उद्योग बन्द हुने गरेको उनले बताए ।

'चिनी नपाए पनि उपभोक्ताका लागि घरेलु मदिरा उद्योग समस्यामुक्त छन्,' लुम्बिनी सुगर मिलका प्रबन्ध निर्देशक मनीष अग्रवालले भने, 'किनकी ठूलो परिमाणमा सख्खर उत्पादन भइरहेको छ ।'  कलैयास्थित महाकाली क्रसर उद्योगका सञ्चालक रामबाबु यादवका अनुसार उत्पादित सख्खरको  ७० प्रतिशतभन्दा बढी घरेलु रक्सी बनाउन प्रयोग हुन्छ । बाँकी उत्पादन पशुदाना र साँस्कृतिक पर्वका मिठाई र आयुर्वेद औषधिमा खपत हुन्छ,' उनले भने । सरकारले सख्खरलाई नशालु पदार्थको सूचीमा राखेको छ । 

सुनसरीदेखि बारासम्मका लागि उखुको मूल्य ४ सय १  प्रतिक्विन्टल निर्धारण गरिएको छ । तर सख्खर व्यवसायीहरूले घरघरमै पुगेर उद्योगभन्दा बढी मूल्य प्रस्ताव गर्न थालेपछि चिनी उद्योग उखुको मूल्य बढाउन बाध्य भएका छन् ।

उखु राम्रोसँग तयार नहुँदै सख्खर उद्योग सञ्चालन हुन थालेकाले नारायणी नदी पश्चिमका क्षेत्रमा त उखुको मूल्य नै निर्धारण हुन सकेन । डेढ महिनाअघि ४ सय रुपैयाँ प्रतिक्विन्टलमा उखु खरिद गर्न थालेका उद्योगले अहिले ४ सय ६५ रुपैयाँसम्म दिँदा पनि पर्याप्त उखु पाएका छैनन् । पटकपटक उखुको अभावमा मिल बन्द हुने गरेको अग्रवालले बताए । 'अहिलेसम्म ४ लाख क्विन्टल क्रसिङ हुनुपथ्र्यो,' उनले भने, 'तर उखु नपाएकाले आधाजति मात्र क्रसिङ गर्न सकियो ।'

अग्रवालका अनुसार नवलपरासीमा क्रसरहरूले ५ सय रुपैयाँसम्म दिन थालेका छन् । उखु अभावमा यसरी पटकपटक क्रसिङ रोक्नुपर्दा उत्पादन लागत थप बढ्ने उनले जनाए ।  सबैभन्दा बढी उखु खेती हुने सर्लाहीमा १ सय ५० बढी क्रसर सञ्चालनमा रहेको अनुमान छ ।  नवलपरासीमा पनि सोही संख्यामा क्रसर सञ्चालित छन् । एउटै उद्योगले दैनिक १ हजार क्विन्टलसम्म उखु क्रसिङ गर्ने क्षमता राख्छन् ।

दैनिक १५ हजार क्विन्टल क्रसिङ क्षमताको बारास्थित मामकौर सुगर मिलले चालू मौसममा १० लाख क्विन्टल क्रसिङ गर्ने लक्ष्य राखेको छ । तर उखु अभावको कारण लक्ष्य पुग्ने सम्भावना छैन,' महाप्रबन्धक शिवनाथ शर्माले भने । उद्योगमा भन्दा क्रसरमा उखुको दर बढी भएकाले क्रसरमा उखु जाने गरेको छ । 

प्रतिक्विन्टल उखु क्रसिङबाट ८ किलोग्राम चिनी उत्पादन हुन्छ भने १० किलो सख्खर उत्पादन हुन्छ । उत्पादकले प्रतिकिलो सख्खरमा ५० रुपैयाँ पाइरहेका छन् । चिनी उत्पादनमा १३ प्रतिशत भ्याट तिर्नुपर्छ । तर करको दायरामा आएका क्रसरले वाषिर्क ३०/४० हजार रुपैयाँ कर तिर्ने गरेका छन् । अधिकांश सख्खर उत्पादन गर्ने क्रसर करको दायराबाहिर छन् । 

दर्तासमेत नभएका यस्ता क्रसरले विद्युत पनि हुकिङ गर्ने भएकाले लागत मूल्य निकै कम छ । १ सय ५० भन्दा बढी क्रसर सञ्चालनमा रहेको अनुमान गरिएको सर्लाहीमा २ वटा क्रसर मात्र दर्ता छन् ।

--
kantipur

Comments :

0 comments to “सख्खरले बढायो मदिरा उद्योग”

Post a Comment

 
^