सागरनाथ वन विकास परियोजनाअन्तर्गत मूर्तिया रेन्ज युनिटको घुर्काैली जंगलमा स्थानीयवासीको एक समूह प्रवेश गरी करिब १५ सय मसला जातका रूख काटेको छ । अवैध रूपमा काटिएका रूख सोमबार बिहानसम्म ओसारिएको थियो ।
चोरी कटानीका लागि नाम कमाएको परियोजनाको वन क्षेत्रमा ४/५ सयको संख्यामा प्रवेश गरेका स्थानीयवासीले जथाभावी रूख काटेको जिल्ला वन अधिकृत शेखर यादवले बताए । 'करिब १५ सय रूख कटान भएको छ,' यादवले भने, 'मसलाको प्लटमा पसेर सरपट कटान गरेको देखियो ।'
तीन दिनदेखि कटान भए पनि परियोजना कर्मचारीले जानकारी नदिएका कारण आइतबार साँझ थाहा पाएर घटनास्थल पुगेको यादवले बताए । साँझ पुगेको वन अधिकृतसहित टोलीले २५ साइकल र एउटा बिनानम्बरको ट्याक्टर बरामद गरेको छ । परियोजनाको ट्रकमा हालेर ल्याएको साइकल उनीहरूले हूलहुज्जत गरेर खोसेका छन् । यादवले ट्याक्टरमात्र बरामद गर्न सकेको जनाए ।
रूख काटनेले परियोजनाको ट्रकमा ढुंगामुडा गरेर सिसा फुटाइदिएका छन् । चालकले पनि सामान्य कुटाइ खाएका यादवले बताए । रूख काटने समूहले बरामद सबै साइकल कब्जा गरेपछि ट्रक छाडिदिएका थिए ।
'परियोजनाको ठूलो लापरबाही देखिन्छ,' यादवले भने, 'वन जोगाउन नसक्ने भए मदत माग्न बारम्बार भनेको छु कसैले पनि सूचनासम्म दिएका छैनन् ।' वन अधिकृत पुग्दा पनि भीडले रूख काटन नछाडेपछि सशस्त्र वन रक्षकले केही राउन्ड फायर गरेर भीड तितरबितर पारेको थियो ।
भीड भागेपछि काटिएका रूख ओसार्न ल्याएका ट्याक्टर र साइकल बरामद गरिएको हो । टुना ओसार्न नसकून् भनेर जंगलमा ल्याइएका दर्जनौं गोरुगाडाको टायरमा प्वाल पारिदिएको यादवले बताए । उनले भने, 'हतारमा थोरै जनशक्ति लिएर गएकाले मान्छे पक्राउ गर्न सकेनौं ।' स्थानीय बासिन्दाले भने परियोजनाका रूख कर्मचारीको मिलेमतोमा अवैध कटान गरेर तस्करीमार्फत भारत लैजाने क्रम बढेपछि आफूहरूले नै काटेको दाबी गरे । रूख काटिएको आसपास क्षेत्रमा सोमबार बिहानसम्म टुना ओसार्ने क्रम जारी छ । राति वन कर्मचारीले रोकथाम गरेपछि बिहानसम्म प्रहरी र परियोजना कर्मचारी घटनास्थलमा नपुग्दा बिहानभरि साइकलमा काठ ओसार्नेको भीड जंगलमा थियो ।
वनले परियोजनालाई राति नै बाँकी टुना ओसार्न भने पनि बिहानसम्म अलपत्र भएपछि स्थानीयले नै घरमा थन्क्याएका छन् । एक महिनाअघि पनि घुर्काैलीदेखि करिब १ किलोमिटर पश्चिमको परियोजना क्षेत्रकै हजारौं टिकका रूख स्थानीयवासीले सरपट कटान गरेका थिए ।
परियोजनाको जंगल अवैध कटान गर्नकै लागि हो भन्ने मान्यता स्थापित भएकाले रोकथाम गर्न कठिन भएको वन कर्मचारी बताउँछन् । 'भूमाफियाले पनि कटान गरेको हुन सक्छ,' यादवले भने, 'रूख काटेर बस्ती बसाउने उद्देश्य देखिन्छ ।'
परियोजनाका कर्मचारी भने कटानपछि सम्पर्कमा छैनन् ।
निहत्था चौकिदारमात्र रहेको परियोजनाले रूख जोगाउन नसक्दा मूर्तिया रेन्ज युनिटका वृक्षरोपण क्षेत्र सखाप भइसकेको छ । रूख नभएका जमिनमा सुकुम्बासी बसोबास गनर्ुका साथै खेती पनि गरिरहेका छन् ।
हरिया रूख सुक्दै
निजगढ -कास)- बाढीसँगै पसेको भंगालोका कारण चारकोसे झाडीका लाखौं मूल्यका रूख सुक्न थालेका छन् । पसाहा खोलामा तटबन्ध निर्माण हुन नसक्दा बाढीसँगै जंगलमा भंगालो पस्ने गरेकाले हिउँदमा रूख सुक्न थालेका हुन् । सुक्ने क्रम चार वर्षदेखि रोकिएको छैन ।
पसाहा खोला ७ सय मिटर फुटेपछि जंगलमा बाढीसँगै भंगालो पस्ने गरेको छ । क्रसर उद्योगले मापदण्ड विपरीत चुरे क्षेत्रबाट दैनिक ठूलो परिमाणमा बालुवा, ढुंगा र गिट्टी निकालेकाले वषर्ामा भूक्षय हुने गरेको हो । त्यही भूक्षयबाट पसाहा खोला फुटेको प्राविधिक ब्ाताउँछन् । खोला ७ सय मिटर फुटेको छ । खोलाको धार बदलिएर जंगलमा बर्सेनी भंगालो पसेर क्षति पुर्याइरहेको छ ।
फुटेको ठाउँमा तटबन्ध निर्माण नगरेपछि चारकोसे जंगलको काँटगाउँ, हरैया, बोधवन, प्रसौना, मधुवन, नयाँबस्ती, सहजनाथलगायत चार सय बिघा क्षेत्रफलमा भंगालो पसेको हो । भंगालोले रूख सुक्न थालेपछि पसाहा खोलामा तटबन्ध निर्माण गर्न दुई वर्षअघि भूसंरक्षण बाराले वनको अनुरोधमा सर्भे गर्दा तटबन्ध निर्माण गर्न ५० लाख लाग्ने योजनासहितको प्रतिवेदन दिएको थियो । त्यसअनुसार बजेट नभएपछि तटबन्ध निर्माण गर्न नसकिएको वनका सहायक अधिकृत विन्देश्वर पटेलले बताए ।
'जति विनाश भए पनि बजेट अभावले यो रोक्न सक्ने स्थिति छैन,' सहायक वन अधिकृत पटेलले भने । सर्वे टोलीमा सहभागी भूसंरक्षणका प्राविधिक राजनारायण साहका अनुसार चुरेमा भूक्ष्य बढेपछि बर्सेनि सयौं बिगाहाका ५० लाखभन्दा बढीको रूखहरू सुकेका छन् ।
कर्मचारी मिलेमतोमा शिरीष र साल सखाप
डेढ सातायता जिल्लाका राष्ट्रिय वन व्यापक विनाश हुँदै गएको छ । स्थानीय सोनवषर्ा ७ र ८ नजिकै चारभैयादेखि दक्षिणको वनका बहुमूल्य शिरीष र सालका काठ दिउँसै तस्करले भारत पुर्याइरहेका छन् ।
वन कर्मचारीको प्रत्यक्ष सहभागिता र मिलेमतोमा करोडौं रुपैयाँका साल र शिरीषको काठ चोरी कटानी भइरहेको स्थानीयवासीको आरोप छ । यो वन क्षेत्रमा दिउँसै काठ तस्कर प्रवेश गरी वन मास्दै गरेकोबारे सूचना ज्यानको खतरा मोलेर पनि आफूहरूले जिल्ला वनका जिम्मेवार अधिकृतलाई दिँदा समेत उनीहरू मौन बस्ने, वन तस्करको प्रतिकार गर्न वनरक्षक टोली नपठाएको स्थानीयले बताए । वन कार्यालयले चाहेमा तस्करलाई पक्राउ गर्न सक्ने अवस्था हुँदासमेत त्यसो नगर्ने र रूख काटिएको वन क्षेत्रको निरीक्षण, अनुगमनसम्म गर्न नआउने गरेका छैनन् ।
डेढ सातायता उक्त वन क्षेत्रमा करिब १ हजार ५ सय साल र शिरीषका रूख तस्करले सीमा कटाएका छन् । सोनवषर्ा ९ निवासी बाबुलाल चौधरी दैनिकजसो यस क्षेत्रमा दिउँसै आरा र बन्चरोसहित तस्कर प्रवेश गर्ने, टायर गाडा र ट्याक्टरमा लोड गरेर लग्दासमेत भतौडा रेन्जपोस्टका कर्मचारी आर्थिक लोभमा मौन बस्ने गरेको आरोप लगाउँछन् । उनी भन्छन्, 'म आफैंले कति पटक तस्करले रूख काट्दै छन्, दलबलसहित आउनुपर्यो भनेर इलाका वन पोखरीयाका कपिलदेव पटेल तथा जिल्ला वनका जिम्मेवार अधिकृतलाई खबर गर्दा उनीहरूबाट कुनै प्रतिक्रिया पाइन । यसले पुष्टि गर्छ वन विनाश हुनुमा कर्मचारीको मिलेमतो छ ।' यस क्ष्ाेत्रमा वनकै कर्मचारीको संरक्षणमा भइरहेको प"mडानीबाट निस्कने काठको ठूलो हिस्सा भारततिर लगिने र केही वन क्षेत्रमै अवैध रूपमा सञ्चालन भइरहेका समिलमा चिरान गरेर बिक्री हुने गरेको उनको आरोप छ ।
नजिकै रहेको पर्सा वन्यजन्तु आरक्ष वनको सुरक्षा सेनाले गर्ने भएकाले त्यहाँको वन अत्यन्तै घना छ । यहाँ तस्करहरू पस्न हिम्मत गर्न सक्दैनन् तर जोडिएको राष्ट्रिय वनमा जिल्ला वनका वनपाले गस्तीमै नआउने, तस्करलाई वन प्रवेश गर्न छुट दिने, काठ तस्करी भइरहँदा नजराना लिई छाड्नेजस्ता गतिविधि भइरहेको छ ।







Comments :
Post a Comment