Loading...

खयरका हजारौं गोलीया बरामद

सर्लाही, अषाढ १४ - 
परवानीपुर गाविसको दुई वटा सामुदायिक वनबाट अवैध कटान भएका हजारौं खयरका गोलीया सोमबार प्रहरीले बरामद गरी कारवाहीका लागि जिल्ला वन कार्यालयलाई बुझाएको छ । यसअघि पनि प्रहरीले परवानीपुर गाविसकै ब्रम्हस्थान सामुदायिक वनमा अवैध कटान भएका हजारौं साल र खयरका गोलीया बरामद गरेको थियो । 

निरन्तर काठ फेला पर्नुले जंगलका बहुमूल्य रूख छानी छानी काटिएको पुष्टि हुन्छ । चुरेडाँडामा वन क्षेत्रपर्ने माइस्थान र जयभवानी सामुदायिक वनबाट उक्त खयर अवैध रूपमा कटान भएको प्रहरीले जनायो । बरामद खयरका कुनै पनि गोलीयामा टाँचा लागेका छैनन् ।

हरिऔन इलाका प्रहरी कार्यालयको गस्ती टोलीले खयर फेला पारेपछि प्रजिअसहित सुरक्षा निकायका अधिकारी प्रारम्भिक छानबिनका लागि काठ थुपारिएको स्थानमा पुगेका थिए । यसअघि भएको अवैध कटानमा मिलेमतो गरेको आरोपमा जिल्ला वन अधिकृतसहित सात जना कर्मचारी निलम्बित भइसकेका छन् । 

प्रजिअ शम्भु घिमिरेले चुरे डाँडालाई व्यापक क्षति पुग्ने गरी लगातार रूख काट्ने कार्य भइरहेकोमा जिल्ला वन कार्यालय गम्भीर हुनुपर्ने बताए । वैशाखदेखि सुरु भएको काठ बरामद गर्ने अभियानमा छुटेका अवैध रूपमा कटान भएको खयर फेला परेको उनले बताए ।  

कटान भएको स्थानमा पुगेका जिल्ला वन कार्यालयका रेन्जर केदार कार्कीले दुबै सामुदायिक वनले वाषिर्क कार्य योजनाअनुसार खयर काटेको देखिए पनि छानबिन भइरहेको बताए । कार्कीका अनुसार माइस्थानको गत वर्षको कटान आदेश र जयभवानीको यसै वर्षको कटान आदेश हो ।

एक वर्ष अघिको कटान आदेशका काठ नउठाइनुले एउटै कटान आदेशबाट निरन्तर काटिरहने गलत मनसाय हुनसक्ने देखिएको घिमिरेले बताए । 'एक वर्षअघिदेखि काटिएका खयर अहिलेसम्म अलपत्र रहनु र वन कर्मचारीले केही नगर्नुले नियत खराब देखियो,' घिमिरेले भने, 'एउटै कटान आदेशको आडमा अनन्तकालसम्म रूख काटेर जंगल सखाप पार्ने योजना हुन पनि सक्छ ।'

जयभवानी सामुदायिक वनकी सचिव गायत्री थापाले कार्ययोजना अनुसार काट्नुपर्ने भनेर वन कर्मचारीले भनेकाले काटेको बताइन् । उक्त सामुदायिक वन ०६६ सालमा हस्तान्तरण भएको र सोही वर्ष वनले कटान आदेश दिएको थापाले जानकारी दिइन् । 

'हामीलाई कार्ययोजना र विधानबारे थाहा छैन, वनले नै बनाइदिएको हो,' थापाले भनिन्, 'उनीहरूले नै समिति बनाए र खयर काट््नुपर्छ भनेपछि भने बमोजिमकै निर्णय गरेर काटेका हौं ।' वनकै कर्मचारीले काट्न हुन्छ भनेपछि अन्यथा सोच्ने प्रश्नै नभएको उनले स्पष्ट पारिन् ।



रूख काट्दै घर र खेती

शिव पुरी 

रौतहट- वन अतिक्रमणकारी समूहले जंगलछेउ रहेका काँचो रूख कटान गरी खनजोत गर्दै बाली तथा घर बनाएर अतिक्रमणलाई निरन्तरता दिएको छ । रङ्गपुर, बलरीखोर, सन्तपुर, बागमती, गैंडाटार, चन्द्रनिगाहपुर, चुरेक्षेत्र, भोलनटार, जुडिबेला लगायतका इलाकामा ठूलो मात्रामा अतिक्रमण गर्दै घर बनाउने र खनजोत सुरु गरिएको छ । रङ्गपुर रेन्जपोस्टअन्तर्गतको बेतौना जङ्गल अतिक्रमण गरी टहरा बनाउँदै गर्दा वनले सशस्त्र र नेपाल प्रहरीको सहयोगमा अतिक्रमणकारीलाई भगाए पनि अन्य स्थानहरूमा अतिक्रमण हटाउन खासै चासो देखाएको छैन । रौतहटको कुल २९ हजार ५ सय हेक्टर जंगलमध्ये १ हजार बढी अतिक्रमणको चपेटामा परेको अनुमान छ । 

वन अधिकृत राजबहादुर राउतले केही दिनअघि रौतहट आएको सभासदसहितको प्राकृतिक स्रोत व्यवस्थापन समितिको टोलीलाई रौतहटमा ६ सय हेक्टर मात्र वन अतिक्रमण भएको जानकारी गराएका थिए ।

पछिल्लो समय बेतौनास्थित रङ्गपुर साझेदारी वन क्षेत्र अतिक्रमण गरी २ सय बढी घर बनाई अतिक्रमणकारी ढुक्कसँगले बसेका छन् ।  वन अधिकृत राउतले स्थानीय प्रशासनसँग सहयोग मागेर बस्ती हटाउने बताए पनि हालसम्म कुनै पहल भएको छैन । वन क्षेत्रमा अतिक्रमण संस्थागत हुन थालेपछि रौतहटको वन संकटमा छ । अतिक्रमण जटिल समस्या भएको र यसलाई न्यून गर्न सरकारले कडा कानुनको व्यवस्था गर्नुपर्ने वन कर्मचारीहरू बताउँछन् ।

Comments :

0 comments to “खयरका हजारौं गोलीया बरामद”

Post a Comment

 
^