Loading...

गोलभेडाको मूल्य २० गुणा सस्तो

राम्रो मूल्य पाएर यस वर्षको मध्य सिजनमा अप्रत्याशित आम्दानी गरेका गोलभेडा किसानले उत्पादनको अन्तिम समयमा भने मजदुर खर्चसमेत नउठ्ने भाउमा चित्त बुझाउनुपरेको छ ।

चैत अन्तिम सातादेखि गोलभेडाको भाउ गिर्दाे छ । अहिले प्रतिकिलो २ रुपैयाँमा बिक्न हम्मे पर्छ । मध्य सिजनमा ४० रुपैयाँ किलोमा हातहातै बिक्री भएको गोलभेडा अहिले टिपेर बजार पुर्‍याउँदा लाग्ने खर्चसमेत नउठ्ने कृषक बताउँछन् । 

'अहिले किसानले बजारमा ल्याएको गोलभेडा नबिकेर फ्याँकेर र्फकन्छन,' सासापुरका किसान खुशीलाल महतोले भने, 'पहिले राम्रो मूल्य पाएकाले अहिले सस्तो बेच्नुपरे पनि किसान थेगिएका छन् ।

किसानले अलगअलग समयमा बीउ रोपेर उत्पादन गर्दै आएका छन् । सकिने बेलाको उत्पादनको भाउसमेत राम्रो हुने गरेकाले पछिल्लो पुस्ताको गोलभेडा अहिले उत्पादन भइरहेको छ । गत वर्ष वैशाखमा गोलभेडा अभाव भएर ४० रुपैयाँ किलोसम्म थोक व्यापारीले किनेका थिए । कतिपय किसानले अन्तिममा राम्रो भाउ पाउने आशामा ढिलो फल्ने गोलभेडा धेरै जमिनमा रोपेका थिए । 'त्यस्ता किसानलाई निकै असर गर्‍यो,' गोलभेडाका थोक व्यापारी शम्भु चौधरीले भने, 'पहाडी क्षेत्रमा बढी उत्पादन भएकाले गोलभेडाको भाउ छैन ।'

वसन्त ऋतु लागेपछि पहाडी भेगमा प्रशस्त गोलभेडा उत्पादन भएपछि माग कम भएकाले भाउ घटेको व्यापारीको भनाइ छ । व्यापारीका अनुसार निश्चित मूल्य नभएका कच्चा उत्पादनको मूल्य बजारले तय गर्ने भएकाले कुन बेला कति मूल्य हुन्छ थाहै हुँदैन ।

फागुनसम्म प्रत्येक दिन यहाँ उत्पादित ४ हजार क्रेट गोलभेडा देशका विभिन्न सहरमा बिक्रीका लागि बाहिरने गथ्र्याे । अहिले यहाँ दैनिक करिब २ हजार क्रेट उत्पादन भइरहेको छ । नवलपुर, लालबन्दी, सासापुर, कर्मेयालगायतबाट गोलभेडा दैनिक काठमाडौंलगायत देशका प्रमुख सहरमा पुग्ने गर्छ ।


~ अमन कोइराला / कान्तिपुर

Comments :

0 comments to “गोलभेडाको मूल्य २० गुणा सस्तो”

Post a Comment

 
^