Loading...

उखु किसानले तोकिएको मूल्य पाएनन्

चिनीमा भ्याट छुट दिएर उखुको भाउ बढाउने सहमति सरकारले कार्यान्वयन नगर्दा किसानले तोकिएको मूल्य पाउन सकेका छैनन् । भ्याट छुटको निर्णय तीन महिनामा पनि कार्यान्वय नहंँुदा किसानको करोडौं रुपैयाँ रोकिएको छ । प्रतिक्विन्टल ४ सय १ रुपैयाँ मूल्य कायम भएको उखुको किसानले ३ सय रुपैयाँका दरलेमात्र भुक्तानी पाएका छन् । 

इन्दुशंकर चिनी उद्योगले शनिबारसम्म साढे २२ लाख क्विन्टल उखु क्रसिङ गरिसकेको छ । भ्याट छुटबापत उनीहरूले पाउनुपर्ने रकम करिब १० करोड पुगिसकेको छ । उखुको मूल्य वृद्धिको माग गर्दै किसान आन्दोलनमा उत्रिएपछि पुस १९ गते तत्कालीन प्रधानमन्त्री माधव नेपालको उपस्थितिमा किसान नेता र उद्यमीबीच मूल्य बढाउने सहमति भएको थियो । चिनी उद्योगले ३ सय ५९ र चिनीमा ७० प्रतिशत भ्याट छुटबापतको हुने ४२ रुपैयाँ थपेर उखुको मूल्य ४ सय १ रुपैयाँप्रति क्विन्टल कायम गरिएको थियो । 

सरकार परिवर्तनलगत्तै उक्त सहमति कार्यान्वयनमा प्रधानमन्त्री, अर्थमन्त्री, राजस्व सचिवलगायतले रुचि नदेखाएको किसान नेताको आरोप छ । भ्याट छुटको सहमति कार्यान्वयनका लागि वर्तमान प्रधानमन्त्री र अर्थमन्त्रीलाई आग्रह गर्न जाँदा उनीहरूले राजनीतिक कुरा भएकाले अध्ययन नगरी भ्याट छुट नहुने जवाफ दिने गरेको किसान नेताले बताएका छन् ।  

उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनाली सरकार परिवर्तन भएपछि वर्तमान सरकारी नेतृत्वले पुरानो सहमतिलाई गम्भिरतापूर्वक नलिएको बताउँछन् । 'वर्तमान सरकारले उक्त सहमति कार्यान्वयनमा रुचि देखाएको छैन,' मैनालीले भने ।


Comments :

0 comments to “उखु किसानले तोकिएको मूल्य पाएनन्”

Post a Comment

 
^